राडिज्यूला शिक्षा क्याम्पस
क्याम्पसको पृष्ठभुमि
नेपालकै दुर्गम मध्येको रुकुम पश्चिम जिल्ला , प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तर शैक्षिक विकासमा अति पछि परेको जिल्ला हो । नेपालमा ७५ जिल्ला हुँदा रुकुम भनेर चिनिने जिल्ला देशमा संघियता लागु भएपछि रुकुमलाई रुकुम पश्चिम र रुकुम पूर्व वनाईयो ।
८८२ मिटर उचाईमा अवस्थित रुकुम जिल्लाको शैक्षिक इतिहास हेर्दा यस जिल्लामा गुरुकुल शिक्षाको चलन चल्ति थियो । शिक्षा केवल ब्राहमन, मुखिया, जिम्वाल र राज परिवारमा मात्र सिमीत थियो । राणा प्रधानमन्त्री देवशम्सेरको पालामा हालको रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकाको डाङ्डुङेमा सञ्चालित आधारभूत विद्यालय भाषा पाठशालाको रुपमा स्थापित भई राणा शासनको अन्त्य पछि रुकुम जिल्लामा फाट्ट फुट्ट विद्यालय खुल्न थालेका थिए ।
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२ लागु भए संगै रुकुम जिल्लाको शिक्षाले गति लिएको पाईन्छ तर त्यो पनि माध्यमिक सम्मको शिक्षा मात्र उपलव्ध थियो । नेपालमा उच्च शिक्षा पठनपाठनको लागी वि.स.२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो ।
वि.स. २०३७ सालमा मुसिकोट खलंगा बहुमुखि क्याम्पस स्थापना भएको थियो तर रुकुम जिल्लाको पश्चिम क्षेत्र सदरमुकाम देखि ४३ कि.मी. पश्चिम उत्तरमा रहेको आठविसकोट नगरपालिकामा शिक्षाको पहुँच पुग्न सकेन । भौगोलिक हिसावले विकट, आर्थिक हिसावले न्यून आय भएका मानिसहरुका लागि शिक्षा प्राप्त गर्न ठुलो समस्या भएको महशुस गरीयो । उच्च शिक्षा हासिल गर्नको लागि आर्थिक अवस्था कम्जोर भएकाहरु कारण बाहिर गएर पढ्न सक्ने अवस्था थिएन् ।
वि.स. २०६४ साल देखि आठविसकोट नगरपालिकामा कक्षा ११ र १२ को पठनपाठन सञ्चालन भयो । यसले गर्दा अध्ययन गर्ने विद्यार्थिका लागि केहि हद सम्म भए पनि सहज बनाएको थियो । तर पनि स्नातक अध्ययन गर्ने छात्रछात्राका लागि भने पढ्न जाने समस्या उस्तै भएपछि यहाँका बुद्धिजीवी, शिक्षक, राजनितीक दल, व्यापारी, विद्यार्थी, स्थानीय निकाय आदिको संलग्नतामा वि.स. २०६७ सालदेखि क्याम्पस स्थापनाका लागी आवश्यक पुर्वाधार तयार गरियो र वि.स.२०६९ श्रावन ४ गते दिन यस राडीज्यूला शिक्षा क्याम्पस आठविसकोट रुकुम पश्चिमले त्रिुभवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना महाशाखा किर्तीपुर काठमाडौं बाट तीन बर्षे वि.एड तहको सम्वन्धन प्राप्त गर्यो ।
त्रिभुवन विश्व विद्यालयले चार बर्षे वि.एड. तहको कार्यक्रम संचालन गरेपछि हाल यस क्याम्पसमा तीन बर्षे तथा चार बर्षे वि.एड. का विद्यार्थीहरु अध्ययनरत छन् । आठविसकोट नगरपालिकाको एक मात्र राडीज्यूला शिक्षा क्याम्पस रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ९ राडीज्यूलामा अवस्थित रहेको छ ।